बुटवल, १२ भदौ :  अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड खुल्न अझै खुल्न सकेको छैन । बुटवल-नारायणगढ सडकका ठाउँठाउँमा पुल, कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको हो । तर, भत्किएका, भासिँएका पुलको मर्मत गर्न केही समय लाग्ने भएकाले तत्कालै सडक सुचारु नहुने जनाइएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-सुनवल खण्डमा मात्रै चार स्थानमा पहिरो गएको छ भने पुल भाँसिका छन् । यो तथ्यांक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको हो ।

रुपन्देहीको देवदह नगरपालिका-७ स्थित घोडाहा खोलाको पुल र पश्चिम नवलपरासीको सुनवल नजिकै रहेको तुरियामायी पुल भासिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । त्यसैगरी, सुनवल नगरपालिकामा पर्ने राजमार्गका तीन स्थानमा पनि सडक अवरुद्ध छ ।

भूमही भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देही र नवलपरासी सीमा क्षेत्र मौवाखोला पुल पनि क्षतिग्रस्त भएको छ ।

दैनिक हजारौं गाडी ओहोरदोहोर हुने सडक नै अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् । ओभरलोडसँगै नदी र खोलामा अनियन्त्रित दोहनले पुल र सडकको दुराअवस्था हुने गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए ।

नदीजन्य पदार्थको चरम दोहन र मापदण्डभन्दा बाहिर गएर नदीजन्य पदार्थ निकाल्नु पनि अर्को एक प्रमुख कारक बनेको छ । नदी र खोला क्षेत्रको बहाव क्षेत्रलाई अतिक्रमण गर्ने तथा अत्यधिक दोहोनले समस्या सृजना गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयराज मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0