काठमाडौं । नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फेला परेको छ । आज मात्रै ३ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोनाको संक्रमण बढीरहेका बेला विदेशका नेपाली अझै जोखिममा छन् ।

विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका ४ नेपालीको कोरोना संक्रमणबाटै ज्यान गएको छ ।

शनिबार मात्रै थप ३ नेपालीमा कोरोना भाइरस (कोभिड–१९)को पुष्टि भएपछि संक्रमितको संख्या ९ पुगेको छ । भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय अर्का पुरूषमा संक्रमण पुष्टि भएको हो ।

शनिबार नै कैलालीकी ३४ वर्षीय महिलामा पनि संक्रमण भेटिएको छ । यसअघि कैलाली संक्रमण भेटिएका व्यक्तिको भाउजुमा संक्रमण देखिएको मन्त्रालयको भनाई छ । नेपालमा कोरोनाको संक्रमण बढीरहँदा विदेशमा रहने नेपालीहरु यसको उच्च जोखिममा छन् ।

देशभित्र संक्रमितहरुको संख्या बढीरहँदा विदेशमा भने चार जना नेपाली नागरिकको ज्यान गएको छ । साढे दुई लाख नेपालीहरु बसोबास गर्दै आएको अमेरिकामा २ जना नेपालीको ज्यान गएको छ भने बेलायतमा पनि २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पाँचथरको रानीगाउ स्थायी घर भई विगत १५ बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको चैत ११ गते मृत्यु भएको थियो ।

अमेरिकामै अर्का ७१ बर्षिय नेपाली नागरिकको पनि ज्यान गएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । कोरोनाको संक्रमणकै कारण संखुवासभा खा“दबारी स्थायी घर भई बेलायत बस्दै आएका लीलाबहादुर राईको चैत ८ गते मृत्यु भएको थियो ।

त्यसैगरी चैत्र १० गते बेलायतमा नै रहदै आएका चितवनको बसेनीका ४० वर्षीय प्रशान्त अर्यालको समेत कोरोना संक्रमणको कारण मृत्यु भएको हो । तर कतिपय संक्रमितहरु भने उपचारपछि निको भई घर फर्किएका छन् ।

विश्वका विभिन्न देशका ३१ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये स्पेनमा ४ जना, अमेरिकामा २ जना, पोर्चुगलमा ६ जना, बहराइनमा ३ जना, कतार २ जना, युएईमा ४ जना, अष्ट्रेलियामा ८ जना र बेलायतमा २ जना छन् । बेलायतमा एकजना निको भएका छन् ।

विश्वलाई नै हायालकायाल पारेको कोरोना भाइरस कोभिड–१९को औषधी अहिलेसम्म पत्ता नलाग्दा यसको नियन्त्रणमा समस्या भएको छ । यसबाट बच्न आम नागरिक सतर्क रहनु नै उत्तम उपाय सावित भएको छ । – सगरमाथा टिभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0