
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ ।
दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक/दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ ।
चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो ।
आइतबार मन्त्रिपरिषद् लगतै समिति बैठक बसेको थियो, जहाँ भ्रमण वर्ष र सगरमाथा सम्वाद स्थगित गर्नेबारे छलफल भएको छ । कोरोनाले विश्व नै आक्रान्त बनिरहेका बेला सगरमाथा सम्वाद र भ्रमण वर्ष मनाउनु सान्दर्भिक नहुने निश्कर्ष निकालिएको बैठकमा सहभागी एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
कोरोनाबारे सतर्कतामा जोड दिने बेलामा पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकिने भएकाले अहिलेलाई भ्रमण वर्ष रोकेर अघि बढ्नुपर्ने कुरा बैठकमा उठेको एक मन्त्रीले बताए । यसबारे पर्यटन मन्त्रालयले अवस्था विश्लेषण गरेर आवश्यक निर्णय लिने बताइएको छ ।
शनिबार नै सरकारले विदेशमा भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो ।
कोरिया, जापानसहित ५ देशको हवाइ उडान रोकिने
त्यसैगरी सरकारले विभिन्न कोरोना अतिप्रभावित मुलुकबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ ।
चीनका साथै जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबारबाटै बाहिरने र भित्रिने हरेक यात्रुको स्वास्थ्य चेकजााच गर्न थालिएको छ ।
कोरोनाका कारण चीनपछि सबैभन्दा धेरै मृत्यु इरानमा भएको छ भने दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण फैलिएको छ ।
आइएनजीओका सेमिनार रोक्न सरकारको आग्रह
सरकारले विदेशी नागरिकहरुको संलग्नतामा आयोजना हुने गोष्ठी र सेमिनारहरु स्थगित गर्न सरकारले एनजीओ/आइएनजीओहरुलाई निर्देशन दिएको छ । विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेकाले नेपाललाई त्यसको प्रभावबाट जोगाउनका लागि सरकारले त्यस्ता गोष्ठी र सेमिनारहरु रोक्न आग्रह गरेको हो ।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकपछि आयोजित उच्च स्तरीय समितिको बैठकले एनजीओ/आइएनजीओहरुलाई आफ्ना कार्यक्रमहरु रोक्न आग्रह गरेको बैठकमा सहभागी एक मन्त्रीले अनलाइनखबरलाई बताए । उनले भने, ‘जापान कोरिया लगायतका देशहरुमा उडान रोक्ने निर्णय भएको छ, साथै एनजीओ/आईएनजीओले गर्न लागेका सेमिनारहरु पनि कोरोना संक्रमणलाई ध्यान दिँदै हाललाई स्थगन गर्न आग्रह गरिएको छ ।’ – नेपाल खबरबाट
