काठमाडौंः कान्तिपुर दैनिकमा ‘ओलीको डिनर डिप्लोमेसी’ शीर्षकमा समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोज आयोजना गरे । साँझ ६ देखि करिब ९ बजेसम्म चलेको भोजमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल साँझ ७ बजेतिर मात्रै पुगे । नेपाल पुगेपछि ओलीका छेउमा बसिरहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सिट छाडिदिए ।

ओली र नेपाल नजिकिए । ६–७ वटा व्यक्तिगत निमन्त्रणाका बाहिरी भोजहरु सकेर बालुवाटार पुगेका नेपालले खानामा उति रुचि देखाएनन् तर उनलाई लालमोहन मनपर्छ भन्ने थाहा पाएका ओलीले हलुवा र लालमोहन ल्याइदिन आग्रह गरे । नेपालले मिठो मानेर खाए । ठूल्ठूलो स्वरमा गीत बजिरहेकाले के भलाकुसारी भयो भनेर भोजमा सहभागी अरुले सुन्न सकेनन् तर उनीहरुबीच निकैबेर कुरा भयो । गत कात्तिक अन्तिम साता झन्डै दुई घण्टा छलफल गरेयता ओली र नेपालबीच सौहार्दपूर्ण रुपमा संवाद भएको देखिएको टिप्पणी त्यहीँ पनि भएको थियो । प्रधानमन्त्री ओली रात्रिभोजमा धेरैबेर बसे, नेपालसँग मात्रै होइन, अरु नेता र कार्यकर्तासँग पनि संवाद गरे, हात मिलाए र फोटो खिचाए । खासखास अवस्थामा प्रधानमन्त्री ओलीले यस्ता कार्यक्रम आयोजना गरेर आफूसँग भड्किएका नेता कार्यकर्तासँग दुरी घटाउने कोसिस गरेका नजिर थुप्रै छन् । त्यस्ता खास अवस्था के हुन् त ? ओली निकट एक नेता भन्छन्, ‘पार्टीमा आफू कमजोर भएका बेला, पार्टीभित्रको अर्को गुट सलबलाएका बेला र बनिरहेको अर्को कुनै समीकरण भत्काउनुपरेको बेला उहाँले डिनर डिप्लोमेसी अपनाउनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0