जनकपुरः प्रदेश २ को राष्ट्रिय सभाको निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गम्भीर झट्का लागेको छ । पच्छिलो समय उपेन्द्र यादवको खराब समय चलिरहेको सजिलै अनुमान गर्न सकिन्छ । २०७४ सालको निर्वाचन पछि दुई बुदें सहमति गरेर संघीय सरकारमा सहभागि हुनु भएका उपेन्द्र यादवको राजनीतिक ग्राफ पनि तल तिर झर्ने क्रममा रहेको मधेश मामिलाका जानकारहरुको विश्लेषण रहेको छ ।
एक समय नेकपा नेता केपी शर्मा ओली र प्रचण्ड सँग बलियो र विश्वासिलो सम्बन्ध बनाउन सफल भएका उपेन्द्र यादवको सम्बन्ध नेकपा सँग बिग्रेपछि उनको खराब दिन सुरु भएको विश्लेषकहरुको बुझाई छ ।
बाबुराम भटट्राईसँगको एकताः उपेन्द्र यादव बाबुराम भटट्राई सँग एकता गरे पछि नेकपामा नेताहरु उपेन्द्र यादवसँग रिसाएको नेताहरु बताउँछन् । नेकपा नेताहरु बाबुराम भटट्राईको पच्छिलो गतिविधि त्यति रुचाएका छैनन् । राजपा सँग एकताको कुरा चली रहँदा अचानक बाबुराम भटट्राईसँगको एकताले नेकपाका नेताहरु उपेन्द्र यादवसँग अचाल्की रिसाउने र दुरी बढने क्रम निरन्तर जारी रह्यो ।
यो क्रम रोकिनुको सटट झनै एक पछि अर्काे गर्दै अगाडि बढी रह्यो । सरकारमा रहँदा उपेन्द्र यादव मन्त्रीपरिषद्को बैठकमा समेत जान छाडेका थिए । सरकारमा बसेर ओली सरकारले गरेका कामको बचाँउ गर्नु त कता हो कता उल्टै सरकारको चर्काे आलोचना गर्न थालेका थिए उपेन्द्र यादव ।
प्रधानमन्त्री ओलीको बारम्बार अनौपचारिक चेतावनीलाई समेत नेता यादवले नजरअन्दाज गर्दै आएका थिए । सरकारमा सहभागि भएर संविधान संशोधन लगायतको मुद्दामा माखो मार्न समेत नसकेपछि बाबुराम सँगको एकतापछि सरकार छाडनुपर्ने दवाव उपेन्द्र यादवमाथि बढ्दै थियो । तर, उपेन्द्र यादव बहुमतको बलमा कुनै पनि हालतमा सरकार छाड्ने मनस्थितीमा थिएन । ठिक उल्टो बाबुराम भटट्राई नेकपासँग उपेन्द्र यादवलाई अलग्याउन चाहन्थे । बाबुराम भटट्राई प्रधानमन्त्री ओली र प्रचण्डको बारेमा बारम्बार सार्वजनिक कार्यक्रममा अन्टसन्ट बोलेर झनै उपेन्द्र यादवलाई अप्ठयारोमा पार्ने क्रम जारी रह्यो ।
प्रदेश प्रमुख हटाउने निर्णयः यसै क्रममा ओली सरकारले सत्तामा सहभागि भएका उपेन्द्र यादवलाई विना जानकारी तत्कालिन संघीय समाजवादीपार्टीबाट प्रदेश २ को प्रदेश प्रमुख हुनु भएका रत्नेश्वर लाल कायस्थलाई हटाएपछि नेकपा र उपेन्द्र यादवबीच झन दुरी बढाउने काम भयो । प्रदेश प्रमुख हटाउँदा समाजवादी पार्टीले सरकारबाट हट्नुको सटट उल्टै देखावटी विरोध गरे पनि सरकार सँगको सहकार्यलाई निरन्तरता दिई नै रह्यो । यता पार्टी भित्र असन्तुष्टि चुलिँदै गएको आभास उपेन्द्र यादवलाई भएपछि पदाधिकारी बैठक र केन्द्रिय समितिमा बहुमतको बलमा आफनो पक्षमा निर्णय गराउन सफल भएका थिए ।
राज्यमन्त्री हटाएपछिः यसै क्रममा उपेन्द्र यादव एक कार्यक्रममा भाग लिन दिल्ली गएको बेला बिना जानकारी मन्त्रालय उनको मन्त्रालय परिवर्तन र स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवलाई पदबाट बर्खास्त गर्दा समेत उपेन्द्र यादवले आफुलाई माया गरेर प्रधानमन्त्री ज्यूले कानून मन्त्रालय दिएको लाज पचाउने प्रतिक्रिया दिएका थिए । तर, आफनै पार्टीको सांसदलाई राज्य मन्त्री पदबाट बिना जानकारी हटाएको विषय उनको लागि प्रतिष्ठाको विषय बनेनन ।
संविधान संशोधनको नाटकः यसै बीच उपेन्द्र यादवले कानून मन्त्रीको हैसियतमा क्याबिनेटमा संविधान संशोधन विषय वस्तु अध्ययन गर्नका लागि उच्च स्तरिय समिति गठन गर्ने प्रस्ताव लगेपछि क्याबिनेट बैठकमा नै उनलार्ई स्टप इट भनेर प्रधानमन्त्री ओलीले कठोर व्यवहार गरेपछि लज्जास्पद तरिकाले उपेन्द्र यादव मन्त्री पदबाट राजिनामा दिन बाध्य भए । दुई बुदें सहमति गरेर सरकारमा सहभागि हुनुभएका उपेन्द्र यादव शूल्य उपलब्धी हासिल गर्दै बेइज्जत तरिकाले सरकारबाट बर्हिगमन हुनुपर्यो । यता, मधेशमा उपेन्द्र यादवले आम जनता तथा आफनै नेता कार्यकताको चर्काे आलोचना खेप्नुपर्यो ।
राजपासँग दोहोरो खेलः तत्कालिन निर्वाचनमा समयमा नै उपेन्द्र यादवले राजपा सँग पार्टी एकता गर्ने राजविराजमा उद्घोष गरेका थिए । तर, निर्वाचन लगत्तै उनले राजपा सँगको सहकार्य एकतर्फी रुपमा तोडेर ओली सरकारमा सहभागि भएका थिए । तर, राजपा ओली सरकारलाई माग सम्बोधन गर्नका लागि ओली सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागि नहुने अड्डी कसेर बसी रहे । यसले जनस्तरमा राजपा प्रति समाजवादी भन्दा राजपाका नेतृत्व प्रति आम जनताको विश्वास र भरोसा बढेर गएको थियो ।
यसैबीच राजपासँग अनौपचारिक रुपमा पार्टी एकता गर्ने विषय नेताहरुबीच सुरु भएको थियो । राजपासँग एकताको प्रयास जारी रहेको बेला अचानक बीचमा डा बाबुराम भटट्राईसँग एकता भएपछि राजपाका नेताहरु एक कदम पछाडि हट्दै उपेन्द्र यादव राजपा सँग दोहोरो खेल खेली रहेको संकेत पाएका थिए ।
यति हुँदाहुदैं पनि राजपाका एक खेमा जसरी पनि उपेन्द्र यादवसँग एकताको विकल्प नरहेको भन्दै एकताको भरमग्दुर प्रयास जारी राखेका थिए । एकताको बिषयमा राजपाभित्र अध्यक्ष मण्डलमा समेत एक मत थिएन । राजपाका दोश्रो तहका नेताहरु उपेन्द्र यादवसँगको एकता विषय पटट्कै रुचाएका थिएनन् ।
मिडियामा राजपा र समाजवादीबीच एकताको सबै कुराकानी मिली सकेको दाबी गर्ने दुवै दलका नेताहरु कुन कुन विषयमा ठोस सहमति भएको हो भनेर कहिले मुख खोलेनन् ।
यता, उपेन्द्र यादव समय समयमा राजपाका अध्यक्ष मण्डल प्रति कटाक्ष गर्ने क्रम जारी रह्यो । कहिले राजपालाई क्लव भन्ने त कहिले नेताहरुको झुण्ड ।
यसै क्रममा राष्ट्रिय सभाको निर्वाचनको समय नजिकिदैं थियो । राजपाका नेताहरु सरकारको विरुद्धमा प्रदेश २ मा राजपा, काँग्रेस र समाजवादीबीच गठबन्धन हुनुपर्ने भन्दै छलफल अगाडि सारेका थिए । तर उपेन्द्र यादव भित्रभित्रै राजपालाई समेत अलग राखेर नेकपा अध्यक्ष प्रचण्ड सँग सहमति गरेर अगामि राष्ट्रिय सभामा भाग लिने योजना बनाएको खबर राजपाका शिर्ष नेताहरुको तहमा पुगेपछि खेलमा नयाँ ट्विस्ट आएको थियो ।
उपेन्द्र यादवको राजपालाई अल्झाएर बर्बाद गर्ने खेलको रहस्य उद्घाटन भएपछि राजपाका शिर्ष नेताहरु विभिन्न माध्यम प्रयोग गरेर प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएर उपेन्द्र यादवलाई चकित पार्दै राष्ट्रिया सभामा मिलेर जाने लिखित सहमति गरेपछि उपेन्द्र यादवले चलेको चालमा आफैं फसेका थिए ।
नेकपा र राजपाको गठबन्धन बनेपछि उपेन्द्र यादव बाध्य भएर काँग्रेस सभापति शेर बहादुर देउवाको शरणमा पुगेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । सोही सहकार्य अनुसार प्रदेश २ मा राष्ट्रिय सभामा मिलेर जाने निर्णय भएपछि नेकपा र राजपा गठबन्धन सँग स्पष्ट बहुमत हुँदाहुँदै राजपाको मत क्रस गराउन सक्ने योजना सुनाएर देउवालाई विश्वास दिलाएका थिए ।
क्रस मतदानको खेलः राष्ट्रिय सभाको उम्मेदवारी देखि नै उपेन्द्र यादवले प्रदेश २ मा राजपा र नेकपा केही मतदातालाई प्रभावमा पार्ने खबरहरु सार्वजनिक भएको थियो । यसबीचमा पुनः उपेन्द्र यादव र राजपाका नेता महन्थ ठाकुरबीच गोप्य भेटघाट भएको विषय सार्वजनिक भयो । सो भेटमा उपेन्द्र यादवले ओली सरकारमा सहभागि हुनु गलत भएको भन्दै पार्टी एकता गरेर जानुपर्ने र महन्थ ठाकुरलाई सर्वमान्य नेता मान्न तयार भएको प्रस्ताव गरेका थिए ।
उपेन्द्र यादव जसरी पनि राष्ट्रिय सभाका आफना उम्मेदवारलाई जिताउन प्रदेश २ का एक मन्त्रीको नेतृत्वमा गोप्य टिमनै सन्चालन गरेको श्रोतको दाबी छ । श्रोतले आर्थिक सहयोग गर्ने लोभ देखाएर राजपा र नेकपामा मतदाताहरुलाई प्रभावमा पार्ने प्रयास गरेका थिए ।
सपा र काँग्रेसको मत क्रसः राजपा र नेकपाको मत चोर्ने हरसम्भव प्रयास गरेका उपेन्द्र यादवको योजना फेल खायो । राजपा र नेकपा गठबन्धनका नेताहरु आफना मत तलमाथि हुने संकेत देखा परेपछि दुई दिन सम्म बर्दिबासको एक होटलमा मतदाताहरुलाई राखेर प्रशिक्षण दिएका थिए । उपेन्द्र यादवको टिमले जति प्रयास गरेपनि राजपा र नेकपाको मत क्रस गराउने अभियान फेल त भयो नै बरु उल्टै राजपाको मत क्रस गराउनुको सटट उनकै पार्टीको केही मत क्रस भएर राजपा र नेकपा गठबन्धनका उम्मेदवारलाई मतदान गरेको मतभारले प्रष्ट भएको छ ।
उपेन्द्र यादव आफ्नै पार्टीको मत जोगाउन समेत असफल साबित भयो ।
प्रदेश २ को सरकारमाथि खतराको घण्टीः उपेन्द्र यादवको निरन्तर ओरालो लाग्ने क्रम यही रोकिने सम्भावना छैन । नेकपा र राजपाको सहकार्यको प्रभाव अब प्रदेश २ सरकारमा पर्ने जानकारहरुको दाबी छ । उसो पनि प्रदेश २ सरकार जनस्तरबाटै आलोचित बन्दै आएको छ । अब राष्ट्रिय सभा यो लज्जास्पद हार व्यहोरेपछि प्रदेश २ सरकारको भविष्यमाथि चौतर्फी आर्कमण हुने प्राय निश्चित छ । श्रोतका अनुसार फाल्गुनको पहिलो वा दोश्रो सत्ता प्रदेश २ सरकारमाथि बज्रपात हुने खतरा बढेर गएको छ ।
उपेन्द्र यादवको हरेक चालहरु कमजोर सावित हुदैं गएको छ । उनले गम्भीरता पूर्वक कमीकमजोरीलाई सच्याउनु जरुरी देखिन्छ । एक समय उपेन्द्र यादव मधेशका बलिया नेता थिए । उपेन्द्र यादव आफैले चालेको चालमा आफैं फस्दै गएको छ ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | टुडेखबर ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।