काठमाडौ‌ं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सभापति शेरबहादुर देउवाले संकटमा पारेको आरोप लगाएका छन् । संस्थापन पक्षसँग असन्तुष्ट पौडेल समूहले शनिबार पत्रकार सम्मेलन गरी सभापति देउवाले पार्टीलाई संकटमा पारेको आरोप लगाएका हुन् ।

‘सभापति देउवाले गलत मनसायले निर्णय गरेका छन्,’ पत्रकार सम्मेलनमा पौडेले भने, ‘यसले नेपाली कांग्रेसलाई फाइदा पुग्दैन ।’ सार्वजनिक रुपमै विरोध उत्रेको पौडेल समूहले महामन्त्री डा. शशांक कोइराला निवासमा देउवाको कार्यशैलीको समीक्षा गरेर पत्रकार सम्मेलन गरेको हो ।

पौडेलले संस्थापन पक्षले पार्टीलाई संकटमा पार्ने गरी निर्णय गरेको भन्दै कडा आपत्ति जनाएका छन् । ‘विधान मिचेर निर्णयहरु गरेर पार्टीलाई भताभुंग पारिएको छ,’ पौडेलले भने, ‘यसको हामी लोकतान्त्रिक पद्धतिबाट विरोध गरिरहन्छौं ।’

सभापति देउवाले पौडेल समूहको बहिष्कारबीच शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकले कार्यसमितिको म्याद एक वर्ष थप्दै पार्टीको १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको थियो । त्यसप्रति पौडेलले कडा आपत्ति जनाएका छन् ।

पौडेलले पार्टीको विधानअनुसार चार/चार वर्षमा हुने महाधिवेशन पाँच वर्ष पुर्‍याएको भन्दै खेद प्रकट गरेका छन् । ‘विशेष परिस्थिति भन्दै महाधिवेशन एक वर्ष पर धकेल्नुनै गलत हो,’ उनले भने, ‘हिजो (शुक्रबार)को बैठकले विभिन्न विभागहरु गठन गर्दै थपेको म्याद अमान्य छ ।’

उनले देउवा समूहले गरेको निर्णय फिर्ता गर्न र सच्याउन जोडदार माग गरेका छन् । पत्रकार सम्मेलनमा नेता प्रकाशमान सिंहले महाधिवेशनको नयाँ कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । ‘पार्टी अप्रजातान्त्रिक बनाइएको छ,’ उनले भने, ‘यसलाई सभापति देउवाले सच्याउन समयमै निर्णय गर्नुपर्छ ।’

पौडेल, प्रकाशमान सिंह सँगै उपस्थिति भएका महामन्त्री कोइरालाले पार्टीभित्रको आन्तरिक समस्याका कारण कांग्रेसले प्रतिपक्षको भूमिका समेत कमजोर बनाएकोप्रति दुःख व्यक्त गरेका छन् ।

‘अहिले कांग्रेसको आन्तरिक विवादले पार्टी कमजोर भएको छ,’ उनले भने, ‘पार्टीले प्रमुख प्रतिपक्षको भूमिका समेत कमजोर भयो, प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनताको मन जित्ने बेला आन्तरिक विवादमा सभापति देउवाले फसाउनुभयो ।’

– नागरिक खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0